नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापानले ३५ करोड बराबरको सहयोग उपलब्ध गराउने



काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले ३५ करोड १५ लाख ४८ हजार ६७५ ( ३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरे ।


द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गरेका छन् ।

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन् ।

विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो । स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ । कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रुपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ ।