जापानका पूर्व प्रधानमन्त्री आबेको अन्त्येष्टि



जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ ।

जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।  टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उनको अन्त्येष्टि गरिएको हो ।


अन्त्येष्टिका क्रममा उनकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी थिए ।  सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।  देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो ।

लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए । आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले राजीनामा दिएका थिए । 

उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिउ । मन्त्रिपरिषद्‌मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए । 

उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यति बेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो । त्यतिबेला उनलाई आन्द्राको समस्या थियो । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका उनले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बनेका थिए । 

उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पदबाट स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।