अलबिदा, द प्रिन्स ….सिन्जो आबे !



उत्तम गौडेल ।

प्रिय सिन्जो आबेः तिमी त गयौं , गयौं, देशलाई रुवाएर गयौं । तिमीले चलाएको देशको शासनसत्ता र सुरक्षा संयन्त्रले तिम्रो जीवन रक्षा गर्न सम्म पनि सकेन । तिम्रो हत्याले देश रोदनमा मात्र डुबेन, तर्सियो, थर्कियो पनि । आतंकवादको परेड तिम्रो जीवनमूल्यसंग जो साटियो, यो कति पीडादायी र क्षतीपूर्ण छ, हिसाव गरिसाध्य छैन । र, पनि तथ्यले भन्छ, आबेनोमिक्स त जीवितै छ । त्यसका प्रभाव र परिणमहरुले जापानी जीवन र अर्थतन्त्र तरंगित हुने नै छ ।


जापानले कहाँ सजिलै भुल्ला र सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कट्टर राष्ट्रवादी नेतालाई ? उमेरले ६७ पार गरिसकेको तिम्रो शरीर मरणशील नै थियो । तर कालगतीले प्राण त्याग्ने तिम्रो आम मानवाधिकार गोली प्रहारको निशाना जो बन्यो, त्यो शान्तिप्रेमी जापानको भूमिमा अशान्तिको अर्को दुखान्त हो । एउटा निर्वाचन अभियानमा सहभागी भएका बेला देशका पूर्व पूर्वप्रधानमन्त्री तिमी सिन्जो आबेको गोली प्रहारपछि भएको मृत्युको शोकमा छ, अहिले सूर्योदयको देश जापान । त्यसको शोकले दक्षिण एशियाको हिन्दूस्तान एक दिने शोक दिवसमा छ, विश्व जगत नै स्तव्ध छ ।

नेपालीहरुको वैदेशिक यात्राको पहिलो गन्तव्य देश जापानको यो राजनीतिक शोकमा नेपालीहरु पनि दुखमा हुने नै भए । परिवारिक रुपमा नै राजनीतिको बिरासत थाम्दै सत्तामा उदाएका जापानका सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका सिन्जो आबे तिमी आफ्नो कट्टर नीति तथा ’आबेनोमिक्स’ कै कारण धेरै कालसम्म बाँचिरहने छौं । आफ्नो शासनकालको मौलिक आर्थिक रणनीति ’आबेनोमिक्स’ले तिमी जीवन्त छौं र शास छउन्जेल सत्तामा टासिने प्रवृत्तिको नेपाली राजनीतिज्ञको यथार्थमा त तिमी अपवाद नै थियौं ।

सन् २०२० मा तिमीले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गरेर सत्तात्याग मानक देखाउने तिमी ’द प्रिन्स’ अर्थात् ’राजकुमार’ अमर त भैसकेका छौं । सिन्जो आबे, तिमीले जुन राजनीतिक विरासत बोकेको परिवारको प्रतिनिधित्व गरेका थियौं, त्यसबाट तिमीले पारिवारिक बिरासत, देशको प्रतिष्ठा र नागरिकको सम्मानमा कुनै आँच आउन नदिएकैले तिमी आदरणीय, स्मरणीय रहनेछौं । पूर्वपरराष्ट्रमन्त्री पिता शिनतारो आबेका छोरा हुनु वा पूर्व प्रधानमन्त्री हजुरबुवा नोबुशुके किशीका नाती हुनु मात्र तिम्रो पहिचान थिएन । आफनै शासनकालको असल शासन तिमीलाई जीवित पूर्व प्रधानमन्त्री बनाउने आधार बने ।

सन् २००६ मा उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेको तिम्रो कीर्तिमान त छर्दैछ । लिबरल डेमोक्र्याटिक पार्टीले तिमीलाई शासक बनायो, तिमीले पार्टीलाई सकेको हदसम्म लोकप्रिय बनायौं । सन् २०१४ र २०१७ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनु तिम्रो दल र तिम्रो स्वयंको ख्यातीको मानक नै थियो । रक्षा र परराष्ट्र मामिलासम्बन्धी आफ्ना कट्टर नीतिहरूका कारण चर्चित तिमीले लामो समयदेखि युद्धपछिको जापानले परिकल्पना गरेको शान्तिप्रिय संविधानलाई संशोधन गर्ने प्रयास गर्दा होस वा छिमेकी चीन र दक्षिण कोरियासँग नझुक्दा आफ्नो र देशकै ईज्जत जोगाएको संघर्ष कथा देशले कहाँ भुल्ला र?

आफ्नो आलोचनाका वीच तिमीले उ कोरोनाभाइरस महामारीको व्यवस्थापनलाई असफल हुनबाट बचाउदा पनि त्यो देशको सुरक्षा संयन्त्रले तिम्रो एकथान जीवन बचाउन नसक्नै नै ट्रयाजेडी हो , शर्म र शोक त हुदै हो । चुनावी यात्राका तिम्रा ती सबै सपना अब अधुरा नै रहे । जापानलाई स्तव्ध बनाएर जब तिमी दिनदहाडै गोलीसंग भौतिक चोला साटन विश भयौं,, यो पासविक, कायरतापूर्ण आक्रमणसंगै तिमी शरीर त्यागेर पनि जितेका छौं, देश लज्जित भएको छ ।

तिम्रो हत्याले जापान र संसारलाई नागरिक र भिभिआईपीहरुको सुरक्षाको नयाँ बन्दोबस्तीका लागि महँगो शिक्षा दिएको छ । अब तिम्रो हत्याको बदला वा सोध भर्ना भनेको अब हत्यारामाथिको हदैसम्मको कारवाही र तिम्रो बाँकी सोच र कार्यक्रमको निरन्तरता दिने तिम्रो दलको प्रयाशमा नै निर्भर हुनेछ । स्वर्गमा तिमीलाई शान्ति मिलोस, अलबिदा, द प्रिन्स सिन्जो आबे ।