काठमाडाैँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानुन कार्यान्वयनमा आउने छ ।
पारित विधेयकमा भनिएकाे छ , ‘०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’