सरकारले केरुङ-काठमाडौँ रेलमार्ग निर्माण गर्न सक्दैन : विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने बताएका हुन् ।

उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौँ रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने बताए ।


नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने उनको भनाई थियो । उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताए । महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताए ।

उनले भने, ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ ।’

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताए । डकुमेण्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनता भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने बताए ।