श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार



दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।” उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।


सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ । यसले गर्दा देशभरि खाद्यान्न, औषधी, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ ।