रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् ।

‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे ।


‘हाम्रो आचरण समाजवादी भएको छैन। ए बाबा एउटा पार्टीबाट सरकारमा मन्त्री गएका छन्, चार दिन काम गर्न पाएको छैन हटाउनुपर्ने, फेरि फेरि पालो पुर्‍याउनुपर्ने, त्यो पनि पार्टी सिस्टम हो? सबैको पालो पुर्‍याउनुपर्ने मन्त्री बन्नलाई? कहाँ त्यस्तो हुन्छ?  सबैलाई पालो पुर्‍याउने कुरा हुँदैन,’ उनले भने।

‘समाजवादको कुरा गरेर, के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ? समाजवादतिर जाने भनेर के आचरण चरित्र देखाइरहेका छौं? नारा समाजवादको फलाक्ने, काम घोर प्रतिक्रियावादी र समान्तवादी गर्ने?’ उनले प्रश्न गरे, ‘हामी बदलिन जरुरी छ। विरोधाभाषले गर्दा सबैलाई डुबाउँछ। त्यसबाट बच्न आचरण र व्यवहार मिलाएर गरौं। जे भन्छौं त्यो कार्यान्वयन गरौं।’

नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ । आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् ।