राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’



काठमाडाैँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । 

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो । 


‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । 

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

‘मलाई मन्त्री पदबाट राजीनामा दिनुपर्‍यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ उनले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरू जानु भएको हो।’ तर उनले आफूले राजीनामापत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियो? भन्दै प्रश्न समेत गरिन्।

यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ ।