प्रचण्डलाई घनश्याम भुसालकाे जवाफ – ‘अब माओवादी, एमाले र एकीकृत समाजवादीको बीउ उम्रिँदैन’



काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने बताएका छन् । बुधबार वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अब हाइब्रिड बीउको जरुरी रहेको बताएका हुन् ।

आजै आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए ।


उनले भने,’प्रचण्डजीले एउटा धारालाई संगठित गर्नका लागि, उत्साहित गर्नका लागि जे भन्नु भएको छ त्यसलाई सम्मान गर्नै पर्छ । तर आजको आवश्यकतालाई उहाँले पनि अझै राम्रोसँग बुझ्नु भएन ।’

उनले अब नेपालमा एकीकृत कम्युनिस्ट पार्टी मात्रै बलियो पार्टीका रूपमा स्थापित हुने पनि बताए । उनले भने, ‘माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड सीपीको बीउ, कमरेड फलानाको बीउ, अब यी बीउहरू उम्रिँदैनन् । रैथाने बीउहरू परापूर्वकालका बीउहरू राख्ने हो तर तिनीहरूले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । धेरै बीउहरूमध्येबाट सेलेक्सन गर्दै हाइब्रिड बनाउँदै अझ धेरै बीउ उत्पादन गर्ने बीउ बनाउनुपर्छ । कमरेड प्रचण्डले के भुल्नुभयो भने माओवादी, एमाले, एकीकृत समाजवादीको बीउ उम्रिँदैन । नेकपा विभिन्न सिडहरूबाट संकलित गरे बनाएको हाइब्रिड बीउ हो । तर हामीले त्यो बीउको भकारीमै आगो लगायौँ ।’