पहिराले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध



लमजुङ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिराले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिराले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ ।


सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डस्थित बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिराले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ ।

यस स्थानमा बर्सेनि पटकपटक पहिराका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर रहेको छ भने बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ ।