जेठ १९ : वीरेन्द्रको वंश विनासको त्यो अकल्पनीय कालरात्री



हरेक वर्ष जसै क्यालेण्डरका पाता परिवर्तन हुन्छन, उसै गरी दोहोरिन्छ, जेठ १९ को दिनाङ्क । जेठ १९, २०५८ को शुक्रवारको रात नेपालको ईतिहासमा विर्सनलायक दिनाँक हो । भुलिदिनुपर्ने, नदोहोरिनुपर्ने एउटा वियोग, पीडा र अपुरणीय क्षती हो । तर किन हुन्थ्यो र सोचेजस्तो । घरीघरी उही दिन, उही पीडा र उही व्यथा दोहोरिन्छ, जेठ १९ को, हरेक वर्ष नै ।

जेठ १९ २०५८ ले नेपाललाई राजतन्त्रात्मक शासन प्रणालीबाट गणतान्त्रिक बनाउने जग बसाएको रहेछ क्यारे शायद । राजा वीरेन्द्रको वंश विनासको त्यो अकल्पनीय कालरात्रीले नै नेपालमा राजसंस्था अन्त्यको थालनी नगरेको हुन्थ्यो भने देश शायद राजासहितको प्रजातन्त्रमा अभ्यस्त भैरहेको हुन्थ्यो की ? बाँचेका भए राजा वीरेन्द्र र उनका सन्ततीहरु, कस्तो हुदो हो आजको नेपाल ? आजको नेपालको शासन व्यवस्था ? यी त सब अब कल्पनाका कुरा भैसके ।


ईतिहासमा एउटा वियोग हो, पीडा हो, क्षती हो दरवार हत्याकाण्ड २०५८ जेठ १९ । तर त्यो भन्दा पनि बढी यो रहस्यमय नै रहिरहनु अरु थप पीडा हो । देशलाई, जनतालाई दुखाईरहने घाऊ हो । मरणशील प्राणी नै थिए, राजा वीरेन्द्र र उनका सन्तती । त्यसैले उनीहरुले स्वभाविक कालगतिको मृत्युबरण गर्न पाएका भए, त्यो यतिबिघ्न कष्टप्रद र अपुरणीय हुदैन्थ्यो होला ।
तर एकातिर उनीहरु नाटकीय रुपमा, अकल्पनीय रुपमा, रहस्यमयी रुपमा सपरिवार मारिए, अर्कोतिर उनीहरुमाथि त्यो प्रकारको पाप कुन निष्ठुरीले किन गरयो भन्ने रहस्य दशकौंसम्म अझै पनि रहस्यकै गर्भमा रहयो । अझै कति वर्ष यो रहस्य अनुत्तरित प्रश्नका रुपमा रहने हो भन्ने एकीन छैन ।

किन भयो दरवारहत्याकाण्ड ? त्यो ताण्डवका दोषी, मतियार वा खलनायक को थिए ? के उदेश्य थियो ? किन सैनिक घेराभित्रै रहेका राजपरिवारको वंश विनास हुदा पनि राजापरिवारको सुरक्षा हुन सकेन ? यो गहिरो प्रश्नको जवाफ ईतिहासले जेठ १९ को सम्झना हुनासाथ खोजिरहेको हुन्छ ।

तत्कालिन संविधान अनुसार नै राजा तत्कालिन शाही नेपाली सेनाका परमाधिपति थिए । आफ्ना परमाधिपतिको रक्षा गर्नु नेपाली सेनाको परम कर्तव्य नै थियो । तर सेनाले त्यो संवैधानिक र युगिन जिम्मेवारी पुरा गर्न नसकेकै कारण त्यो दुर्दान्त भएको स्पष्ट छ । तर त्यो रहस्यको पोको पनि अझै खुलेको छैन ।

दरवार हत्याकाण्डका संबन्धमा मा धेरै अनुमान र कल्पना गरिए । कथा, किताव र चलचित्र बने । तर यथार्थ बाहिर ल्याउने काम न बिघटित राजसंस्थाका अन्तिम उत्तराधिकारी तत्कालिन राजा ज्ञानेन्द्रले गरे, न गणतान्त्रिक सरकार प्रमुखहरुले नै गरे । यो नै राजा वीरेन्द्र र उनका सन्ततीमाथि देशले, व्यवस्थाले गरेको अन्याय हो ।

किन भयो त्यो हत्याकाण्ड भन्ने प्रश्नको समुल उत्तर दिन नसकुन्जेल राजा वीरेन्द्रका सालिकमा चढाउने फुल र व्यक्त गरिने शव्दश्रद्धाको खास तुक हुनेछैन । त्यो त केवल परम्पराको निरन्तरता र औपचारिकता मात्र हुनेछ । ईतिहासले हत्याकाण्डको कारक, कारण र खलनायकलाई संसारका सामु देखाउन सक्नुपर्छ, दण्डित गर्न सक्नुपर्छ । अनि मात्र मारिएका राजा र उनका सन्ततीको आत्माले शान्ति पाउनेछ ।

राजा वीरेन्द्र वास्तवमा नै प्रजावत्सल थिए । उनी प्रजातन्त्रप्रति प्रतिवद्ध थिए । त्यसैले उनले जनभापना अनुरुप नै शासन व्यवस्था चलाएका थिए । २०३६ सालको जनमतसंग्रह, २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना उनका प्रजातन्त्रप्रेमी देशभक्त राजाका परिचायक प्रवृत्ति थिए । पंचायतको पतनपछिका दिनमा उनी झन झन जनप्रिय भैरहेका थिए । २०४५ सालको भारतीय नाकाबन्दीमा उनले देशवासीको जीवनयापन सहज बनाउन आफ्नो सम्पूर्ण ताकत खर्चेको ईतिहासमा ताजै छ ।

बिबादित नागरिकता विधयेकमा होस वा जनभावना अनुसारको शासन प्रणालीमा होस उनी जनताको कित्तामा उभिने राजा नै थिए । र, त भौतिक रुपमा राजा वीरेन्द्र सपरिवार नरहे पनि आम जनताका मन मष्तिष्कमा भने राजा, रानी र राजपरिवार सबै सम्मानित र स्मरणीय छन ।