किसानको रोजाइमा खुमल ४, खुमल ११ र चाइनुङ २४२



काठमाडाैँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँ–नयाँ जात सिफारिस गरिरहँदा किसानले भने ४ दशक पहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।

किसानले मसिनो चामलका लागि खुमल ४ र मोटोमा खुमल ११ र चाइनुङ २४२ बढी रुचाएका छन् । काठमाडौँका स्थानीयले खुमल ११ र चाइनुङ २४२ बढी रुचाउने गरेको नार्कको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजनप्रसाद घिमिरेले बताए ।


खुमल ११ र चाइचुङ बढी मात्रामा चिउरामा र कतिपयले स्थानीय जातका जाँडका लागि प्रयोग गर्छन् । चाइचुङ २४२ र खुमल ४ ३८ वर्षपहिले सिफारिस भएको बीउ हुन् । खुमल ११ २०६३ सालमा सिफारिस भएको थियो ।

आज पनि किसानमाझ उत्तिकै लोकप्रिय छ । मञ्जुश्री एक वर्षभन्दा बढी समय किसानले नरुचाएको उनको भनाइ छ । खुमल ८ पनि किसानले उत्तिकै रुचाएका छन् । ‘रोग लागे पनि हामी लगेर रोप्छौँ भन्ने गरेका छन्,’ उनले भने ।

नार्कले केही समयपहिले मात्रै खुमल १२ सिफारिस गरेको थियो भने खुमल १६ सिफारिसको क्रममा छ । पछिल्लो पटक सिफारिस भएको खुमल १२ किसानले रुचाएको पाइएको छ । मसिनो जातको यो धानको बीउबाट उत्पादन प्रतिहेक्टर चारदेखि साढे चार टन छ । बोटको उचाइ सय सेन्टिमिटरभन्दा बढी छ ।

खुमलटारस्थित केन्द्रले मध्यपहाडी जिल्लाहरुका लागि लक्षित गरी अध्ययन गर्दै आएको छ । नार्कले स्रोत बीउ उत्पादन गर्छ । स्रोत बीउबाट प्रजनन बीउ उत्पादन हुन्छ । स्रोत बीउबाटै मूल बीउ निस्कन्छ । नार्कले अध्ययन, अनुसन्धान गर्दा राम्रो नतिजा दिने बीउ सिफारिस गर्दै आएको छ ।

यहाँबाट किसानलाई सोझै दिने नभए पनि कतिपय किसान भने नार्कले नै सोझै बीउ दिन्छ भन्ने भ्रममा छन् । खुमल २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ नार्कले सिफारिस गरिसकेको छ । तराईमा धानका धेरै जात रहेका छन् ।

उच्च पहाडका लागि चन्दननाथ–१ र २ रहेका छन् । जुम्ली मार्सी, माछापुच्छ्रे पनि उच्च पहाडमा लाग्ने उनले बताइ । उत्पादन कम भए पनि खानका लागि खुमल ४ रुचाएको पाइन्छ । खुमल ८ बीउ रोप्दा नलड्ने हुँदा किसानले रुचाइएको प्राविधिक सहायक घिमिरेले बताए ।

किसानमा भारत र चीनबाट आउने हाइब्रिड बीउप्रतिको रुचि बढी छ । हाइब्रिड कुनै वर्षमा धेरै राम्रो फल्छ भने कुनै वर्षमा बाला नै नलाग्ने समस्या देखिएको छ । गत वर्ष केही स्थानमा हाइब्रिड धान पूरै बिग्रिएको थियो ।

नार्कले अहिलेसम्म सिफारिस बीउ खुमल १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, चाइनुङ २४२, टाइचुन १७६, मञ्जुश्री लगायतका बीउ सिफारिस गरेको छ ।