एमालेले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा



पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको राजीनामा माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी एमाले संसदीय दलका नेता नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् । गण्डकी प्रदेशसभामा बजेटमाथिका छलफल रोकेर सत्ता गठबन्धनले संसद्लाई अनिर्णयको बन्दी बनाएको भन्दै उनले आपत्ति जनाए ।


उनले भने, ’मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएको छ। बजेटमाथि छलफल हुनुपर्यो । संसदीय प्रक्रियामा यसको निकासका लागि कि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए मुख्यमन्त्रीले राजीनामा दिएर यसको निकास खोजिनुपर्छ।’ उनले संसदलाई अनिर्णयको बन्दी बनाउन नपाइने बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै सही ट्रयाकमा नहिँडेको र त्यसबेलादेखि मन्त्रीहरुले आपत्ति जनाएको स्मरण गराए ।

बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेको उनले बताए । लोकतन्त्रमा सबै समस्याको छिनोफानो गर्ने थलो संसद रहेको भन्दै उनले कांग्रेस र माओवादी केन्द्रको विवादका कारण बजेटमाथिको छलफल रोक्न नहुनेमा जोड दिए । असार १ मा बजेट प्रस्तुत गरेसँगै त्यसमाथिको छलफल प्रारम्भ गर्नुपर्नेमा सत्ता पक्ष बजेटको भागबण्डामा अल्झिएपछि संसद बैठक बस्न सकेको छैन।