एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि फल्छः प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् । बुधवार बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् ।

उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेका  उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।


उनले भने, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा पनि हामी नपरौँ  । माओवादी बाहेकका सच्चा कम्युनिष्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रमपनि राख्नुहुँदैन । मैले अस्ति भर्खरै प्रतिनिधिसभाको रोष्टमबाट भनेको थिएँ । नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्याउन सकिन्छ भन्ने मेरो विश्वास छ । तीन वर्षको मेरो अनुभव भनेको एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई पनि एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिने रहेछ भन्ने अनुभव हो । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ फल्छ ।’

उनले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे । उनले जनताको आवाज भनेकै पूर्व माओवादीहरु सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अन्देखा गर्न नमिल्ने बताए । उनले सबैले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताए ।

उनले आफूबिना कसैलेपनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गरे । प्रचण्डले आफ्नो उदारताले कहिलेकाहीँ धोका खाएको बताए । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्ने बताए ।