स्थानीय निर्वाचन सोचेभन्दा राम्रो भयो : आयुक्त डा तुलाधर



काठमाडाैँ । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन सोचेभन्दा राम्रोरुपमा सम्पन्न भएको बताएकी छन् ।

स्थानीय तह निर्वाचनका लागि सञ्चालित इ–बुलेटिन प्रकाशन र निर्वाचनमा सूचना र सञ्चारको सम्प्रेषणका सम्बन्धमा आज आयोगमा आयोजित समीक्षा बैठकमा आयुक्त डा तुलाधरले छिटपुट घटनाबाहेक मुलुकभर एकैपटक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्णरुपमा सम्पन्न हुनुमा सबैको सफलता भएको बताइन् ।


उनले निर्वाचन सफल तुल्याउन सबै सञ्चारमाध्यम, कर्मचारी संयन्त्र र सञ्चार टिमको सक्रिय भूमिकाको प्रशंसा गर्दै प्राप्त पृष्ठपोषणका आधारमा आगामी दिनमा एकीकृत, सरल, पहुँचयोग्य र प्रभावकारीरुपमा सूचना सम्प्रेषणको प्रबन्ध गरिने जनाइन् ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्कलाई आफूले सकेसम्म भरपर्दाे र समयबद्धरुपमा सम्प्रेषण गरेको र यस निर्वाचनको अनुभवका आधारमा आगामी दिनमा थप प्रभावकारी प्रवाह गरिने बताए । बैठकमा आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराई, तुलसीबहादुर श्रेष्ठ, उपसचिव कमल भट्टराई, आदेश खड्का, बुलेटिन प्रकाशन समितिका सदस्यको सहभागिता थियो ।

सो प्रयोजनका लागि आयोगले सञ्चारसम्बन्धी विज्ञका साथै रासस र गोरखापत्र दैनिकका प्रतिनिधिलाई अल्पकालीनरुपमा परिचालन गरेको थियो । आयोगबाट गत वैशाख १ गतेदेखि यही जेठ १२ गतेसम्म गरी बुलेटिनका ४३ औँ अङ्कसम्म प्रकाशन भई आजदेखि बन्द गरिएको छ ।

सो बुलेटिन प्रकाशन समितिको संरक्षकमा आयोगका सचिव गोकर्णमणि दुवाडी र संयोजकमा सहसचिव पौडेल रहनुभएको थियो । स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)का कार्य पनि आजैदेखि बन्द गरेको छ ।