सिन्धुली मरिण गाउँपालिकाको मतगणना प्रारम्भ



सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ ।

अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ । मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो ।


दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ । सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार नेकपा (एमाल)ले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ । निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताइन् । सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ । जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो । जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उनले जानकारी दिइन् ।

दुधौली नगरपालिकामा ७०.६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८ र फिक्कल गाउँपालिकामा ७२.७३ प्रतिशत मतदान भएको छ ।