गरौं मतदान : हाम्रालाई हाेइन राम्रालाई छानौं




उत्तम गौडेल ।
सकिदैछ, चिर प्रतिक्षाको शुभ घडी । वैशाख ३० को सूर्यास्तसंगै आम नेपाली नागरिकले आफ्नो मतसंग साटेर आफ्ना जनप्रतिनिधि चयन गर्ने एउटा आवधिक जिम्मेवारी पुरा गर्दैछन । देशभरका ७५३ स्थानीय तहमा कस्ता जनप्रतिनिधि आउनेछन भन्ने प्रश्नको उत्तर नागरिकको मतदानबाटै तय हुनेछ । मतदान आम नागरिकको आफ्नो सरकार आफै छान्न पाउने संवैधानिक मौलिक हक हो । त्यो हक पुरा गर्न कोही नछुटनु र कोही नदोहोरिनु आवश्यक छ । त्यसैले एक्स्क्लुसिभ न्यूज टाईम परिवार सबै नागरिक जो मतदाता हुनुहुन्छ, उहाँहरुलाई उत्साहपूर्वक, विवेकपूर्ण हिसावले मतदान गर्न सादर अनुरोध गर्दछौं ।

नगरिकको मतदान एउटा पर्व हो, उत्सव हो, छनौट हो, विवेकको परीक्षा हो । त्यसैले असल र जनसेवी जनप्रतिनिधि चुन्नु सबै मतदाताको परम कर्तव्य पनि हो । मत हाल्नु अघि सबै मतदाताले आफ्नो मनलाई सोधेर असल र योग्य उम्मेद्धवार वा दलका प्रतिनिधिलाई मत हाल्न बिर्सनु हुदैन । मतदाताले भोलिका प्रतिनिधिको छनौट गर्दा आफै विवेकी, निष्पक्ष, तटस्थ र जिम्मेवार हुन सक्नै पर्छ । मनले छानेर दिने नागरिक मत नै भोलिका जनताका सेवक चयनको प्रक्रिया हो । हामीले अभ्यासमा ल्याएको लोकतन्त्रको शैली हो । यसतर्फ सबै मतदाताहरु जागरुक र सचेत हुन सक्नैपर्छ ।


देश अहिले चुनावमय वर्तमानबाट निर्वाचित स्थानीय सरकार चयनको आखिरी घडीमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको स्थानीय चुनावको दोस्रो प्रहरमा छ देश अहिले । के गाउँ, के शहर, के नगर, के महानगर सबैतिर देशैभर स्थानीय चुनावको माहौलले सबैलाई चुनाव केन्द्रीत बनाएको छ । सबै दलहरु चुनावमा होमिएका छन, सबै उम्मेद्धवारहरु आआफ्ना मतदाताको मन जित्न दिनरात कोशिस गरिरहेका छन । त्यही सबैको अर्जुनदृष्टि परिरहेको चुनावी माहौललाई आम मतदाताले सही निर्णय मार्फत निर्णायक बनाउन कुनै भुल गर्नु हुदैन ।

भनिन्छ, निर्वाचन लोकतन्त्रको प्राण हो भने मताधिकार आम जनताको सार्वभौम अधिकार प्रयोग गर्ने मुख्य अवसर हो, विशेष राजनीतिक पर्व पनि हो । तपाई आम जनताको एक एक मत अमूल्य छ, अतुल्य छ र निर्णायक पनि छ । त्यसैले, आफ्नो मताधिकार प्रयोग गर्दा सबैले विवेकसम्मत निर्णय गर्नुपर्छ । जनताको सदा साथमा रहने भलो चिताउने र देश हित गर्ने जनप्रतिनिधि छान्ने तपाईहरु आम मतदाताको परम कर्तव्य हो । जनताको सार्वभौम अधिकार मताधिकारको सही सदुपयोग गर्न एक्स्क्लुसिभ न्यूज टाईम परिवारले सधै सकारात्मक र रचनात्मक खबरदारी गरिरन्छ मतादनदेखि मत परिणामसम्म पलपलका सूचना र समाचारहरुको ताजा ताजा अपडेटसहित ।

सबै जनताको, सबै ठाउँका जनताको सार्वभौम अधिकार हो मताधिकार । अनि आफ्नो मताधिकारको सही प्रयोग गर्ने खास अवसर र अभ्यास हो मतदान । जनताको त्यही मतदानको अधिकारलाई उत्सवमय रुपमा सदुपयोग गर्न प्रेरित गर्दै एक्स्क्लुसिभ न्यूज टाईम परिवार असल जनप्रतिनिधिको आगमनको यो शुभघडीमा सबै चुनावी अपडेट सकेसम्म सिघ्र, निष्पक्ष र तटस्थ रुपमा आम पाठक र दर्शकसमक्ष पस्किरहने छ, निरन्तर, विना व्रेक, अथक, असल संचार कर्मका साथ ।

जनताको पक्षमा काम गर्ने, स्थानीय विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिने र सधै गाउँ घर र टोल टोल र बस्ती बस्तीका जनताको सुख दुखमा हातमा हात र काँधमा काँध मिलाउने जनप्रतिनिधिलाई आगामी ५ वर्ष नेतृत्व दिने आवधिक अवसर यो पटकको स्थानीय निर्वाचन २०७९ सबैले शान्तिपूर्ण र निष्पक्ष रुपमा सफल पारौं । यो निर्वाचनमा देशभरका सबै महानगर, उपमहानगर, नगर, गाउपालिकाको नयाँ नेतृत्व चयन हुन सकून । हाम्रो यही शुभकामना र शुभेच्छासहित चुनावी अपडेका समग्र पक्षहरु अपडेट गर्ने प्राण दोहोरयाउदै, मतदानमा सहभागि हुन सबै मतदाताहरुमा पुनः आग्रह गर्दछौं ।