महिला उम्मेदवारमाथि छोरी र श्रीमती भनेर नकारात्मक प्रचार भयो : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको बताएका हुन् । 


‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको बताए ।

‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ,’ दाहालले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई अघि सारेको भन्दै दाहालले भने, ‘यो राजधानीका लागि अवसर पनि हो ।’ उनले देशको राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने बताए ।