गणतन्त्र दिवसको शुभकामना !



२०६५ जेठ १५ यता देशले तय गरेको राजनीतिक र संवैधानिक मुलबाटोमा कैयन यात्रीहरु सामेल छन । त्यही बाटोमा उदाए काठमाण्डौंको महानगरपिताका रुपमा तराई मुलका युवा ईन्जिनियर बालेन शाह । मिस नेवाःको उपाधिले बिभूषित भैसकेकी सुनिता डंगोल बनिन काठमाण्डौं महानगरपालिकाकै पहिलो युवा महिला उपमेयर

दशकदेखि सडकमा एक्लै कराउदा कराउँदै, जनताको जीवन दैनिकीसंग संवन्धित जनसरोकारका मुद्धामा सडक पैरबी गर्दा गर्दै धरान उपमहानगरपालिकाको मेयरमा एकजना भूईमान्छे हर्क साम्पांग पहिलो जननिर्वाचित मेयर बनेका छन ।
काठमाण्डौं, धरान मात्र होईन, देशभर यस्ता धेरै आशाका किरणहरु देखा परेका छन, जो चरम पार्टीकरणको पञ्जाबाट जनताका मुद्धामा केन्द्रीत भएर जनताका प्रतिनिधि बनेका छन । स्थानीय चुनावले स्थानीय सरकारमा युवा पुस्ताको जर्बजस्त प्रवेश र उदय भएको उज्यालो सन्देश दिईसकेको छ ।


देशले वर्ष २०७९ को जेठ १५ गते आईतवार अर्थात गणतन्त्र दिवस मनाईरहदा जनताका वीचबाट जनताका छोराछोरी बराबरी जसो स्थानीय सरकारका हर्ताकर्ता बनेका बग्रेल्ती उदाहरणहरु छन । यसले संकेत गर्छ, देशको संघीय लोकतान्त्रिक गणतन्त्रका रक्षकका रुपमा नयाँ पुस्ता जन्मिएको मात्र होईन, गणतन्त्रको मर्म र धर्म पुरा गर्ने जनआकाँक्षाको परिपूर्तिका लागि कमाण्ड संहाल्न नै तम्तयार भएको छ । माओवादी सुप्रिमो प्रचण्डकै शव्दमा बालेन र हर्क साम्पांगहरु गणतन्त्रको बगैंचामा फुलेका सुन्दर फूल हुन् । बालेन र हर्कहरु दलहरुका चुनौति होईन्न, दलहरुलाई चेतना हुन ।

देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएपछि दोस्रो पट्क सम्पन्न स्थानीय चुनाव २०७९ को ताजा मतादेशको जगमा देशभर ३५ हजार हारहारी नवनिर्वाचित जनप्रतिनिधिहरुले अबको ५ वर्ष जनतालाई घरदैलोमा सरकारको सेवा दिने छन । त्यसमा नयाँ पुस्ताको उदय र सहभागिता जनताका लागि आफ्ना आकाँक्षा पुरा गराउने नयाँ आशाको रक्तसञ्चार र जनताको भरोसा नै हो ।
हाराहारी १० वर्ष लाग्दै गरेको गणतन्त्रले व्यवस्था मात्र परिवर्तन गरयो, जनताको आम अवस्थामा त खास परिवर्तन गरेन भन्ने गणतन्त्रका आलोचकहरुलाई बालेन र हर्कहरु प्रतिनिधि जवाफ हुन । उनीहरु प्रिवर्तनका झिल्को हुन, उज्यालो भविष्यका सुरुवात हुन । उनीहरुले जनताको अवस्था परिवर्तनका लागि युवाहरु जनताको सेवा गर्ने कार्यभार पुरा गर्ने दायित्व पुरा गर्न सक्छन भन्ने नयाँ उदाहरण हो ।

हुन पनि हो, यदी, देशमा गणतन्त्र हुदैन्थ्यो भने, बालेनहरु वा हर्कहरुको यो स्तरको उदय र जनताको यो स्तरको साहसिक निर्णय अकल्पनिय नै हुन्थ्यो । किन भने २०६३ को परिवर्तन अघिसम्म जनता शव्दमा मात्र संप्रभु सत्ताका मालिक थिए । साँच्चो अर्थमा २०६३ को जनआन्दोलन २ ले नै जनतालाई संप्रभु सत्ताको मालिक बनाएको हो । जनता नै जर्नादन भएर नै २०७४ मा पहिलो पट्क, २०७९ मा दोस्रो पट्क स्थानीय सरकारको चयन गरेका छन । जनताले आफ्नो सरकार आफै छानेका मात्र छैन्न, नयाँ र युवा पुस्तालाई जनताको सेवा गर्ने नयाँ नजिर स्थापित गराएका छन । यसले जनता आफ्नो भाग्यको फैसला गर्न आफै सक्षम भएका छन भन्ने नयाँ उदाहरण पनि देखाएको छ । देशभर गाउँ घर र टोल टोल र बस्ती बस्तीमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको नयाँ मानक पनि स्थापित गरेको छ ।

ताजा चुनावी मतादेशमा मुखरित जनताको अपेक्षा पुरा गर्न दलका नेताहरुको पनि आँखा खुलेको छ । बुढापाकालाई अविभावक र युवालाई कार्यकारी अधिकार सहित राजनीतिले जनताको मोर्चामा खटाउनुपर्छ भन्ने नयाँ सन्देश पछिल्लो चुनावले दिएको छ । यो भनेको नेपालको गणतन्त्रले अनेकौं चुनौतिहरुको सामना गरेर पनि आफ्नो भविष्य सुनिश्चित गर्न सक्छ भन्ने ताजा उदाहरण नै हो ।

निश्चय नै व्यवस्था परिवर्तनपछि पनि जनताको आम अवस्थामा खास सुधार भएन भन्ने धरातलीय यथार्थका वीच मनाईदै गरेको यसवर्षको गणतन्त्र दिवसमा जनताको पोल्टोमा हाँसो, खुसी कम छ । महंगीको ठूलो भारी छ । बेरोजगारी र अभाव, कालोबजारी आदिको पहाड नै छ । यस्ता यावत समस्याहरुको कारक र कारण असफल र अयोग्य शासक हुन, शासनप्रणाली होईन । गणतन्त्रले देशका आम नागरिकको हित नगरेको होईन, गणतन्त्रका स्वघोषित मसिहाहरुले नै गणतन्त्रको मर्म र धर्मलाई जनताको अपेक्षा र भरोसासंग एकाकार गर्न नसकेका कारण गणतन्त्रको बिगत जनताको मनमा, आखाँमा बिझाएको हो । त्यसैले दोष गणतन्त्रलाई होईन, साशकहरुलाई दिनुपर्छ । जनताले त्यसको जवाफ दिन पनि थालेका छन ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित भएको दिन अर्थात गणतन्त्र दिवस अब जनताको सचेतनापूर्ण निर्णयले नै थप संस्थागत र जनमुखी हुने संकेतहरु देखा परिसकेका छन । त्यसैले अब देशको संघीय लोकतान्त्रिक गणतन्त्र हिजोका दिनमा नेता विशेषको मात्र जस्तो देखिए पनि अब भने जनताको गणतन्त्र भएको पुष्टि गर्दछ । त्यसैले गणतन्त्र दिवसको सबैलाई शुभकामना भन्न सकिन्छ । जय गणतन्त्र । गणतन्त्र दिवस जिन्दावाद ।