गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ : चित्रबहादुर केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार काठमाडौँमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । 

‘गणतन्त्र जोगाउन हामीलाई अहिले पनि हम्मे-हम्मे परेको छ’ उनले भने,’गठबन्धनभन्दा अहिले बलियो छ प्रतिगमन ।’


उनले पाँच दलभित्रै पनि मतभेद रहे पनि अहिले गणतन्त्र जोगाउनका लागि मिलेर जानुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘आफ्नै पार्टीभित्र त समस्या छ भने फरक विचार बोकेर हिँडेका पाँच दलभित्र प्रशस्त बेमेल छ तर पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’

२०७४ सालको निर्वाचनमा आफूहरुले एमालेसँग तालमेल गरे पनि प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थालाई नै समाप्त पार्न खोजेपछि एमालेसँग नाता तोडेको उनले बताए ।