लमजुङका आठै पालिकामा मतगणना सुरु



लमजुङ । लमजुङ जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिकाको मतगणना सुरु भएको छ ।

शुक्रबार मतदान सम्पन्न भएसँगै आज केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले केही समयअघिदेखि मतगणना सुरु गरिएकोको जानकारी दिइएको छ ।


बेँसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिकामा मतगणना सुरु भएको छ । त्यस्तै, दोर्दी, मस्र्याङ्दी, क्ब्होलासोथर र दूधपोखरी गाउँपालिकामा समेत मतगणना सुरु भएको जनाइएको छ । जिल्लाभर ६९ दशमलव छ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार जिल्लामा कूल मतदाता एक लाख ३१ हजार ४९४ रहेकामा ९१ हजार ४५४ जनाले मतदान गरेका थिए । चौँसठ्ठी हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदातामध्ये ४८ हजार ८८७ महिला र ४२ हजार ५६७ पुरुषले मतदान गरेका थिए ।

जिल्ला सदरमुकाम बेँसीसहर नगरपालिकामा कूल मतदाता २६ हजार २०७ रहेकामा १८ हजार १८५ मत खसेको थियो । दूधपोखरी गाउँपालिकामा आठ हजार ८८८ मतदाता रहेकामा पाँच हजार ७२६ मत खसेको थियो भने सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ मतदाता रहेकामा १४ हजार ५२ मत खसेको थियो।

दोर्दी गाउँपालिकामा १५ हजार ८४ मतदाता रहेकामा १० हजार ४०६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्ब्होलासोथर गाउँपालिकामा नौ हजार २९८ मतदाता रहेकामा छ हजार ६५७ मत खसेको थियो ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४० कूल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो भने, राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मध्यनेपाल नगरपालिकामा २० हजार ९२ मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।