सत्तागठबन्धनले महानगर र उपमहानगरको उम्मेदवार भोलिसम्म टुंग्याउने



काठमाडौँ । सत्तारुढ गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाएको भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भोलिसम्म महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

त्यस्तै बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ । कार्यदलको आज बैठक बस्दैछ । कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरिने छ । महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भइसके पनि यसमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।


केन्द्रमा तालमेल गरी निर्वाचनमा जाने गठबन्धन निर्णय गरेपनि धेरै स्थानीय तहमा एक्लै चुनावमा जाने दलहरुले निर्णय गरिरहेका छन् । खासगरी नेपाली कांग्रेसका स्थानीय तह एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् भने नेकपा एकीकृत समाजवादीले हैसियत भन्दा बढी भाग खोज्दा गठबन्धनभित्र खटपट सुरु भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्ने समय वैशाख ११ र १२ गतेका लागि तोकेको छ। मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले भने बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् ।