मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु



राजविराज । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन युवाको दुर्घटनमा परेर मृत्यु हुँदा गाउँका अन्य व्यक्ति तथा छरछिमेक शोकमा डुबेका स्थानीय सन्तोष पघैयाले बताए । हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोरा बस्ने हेमनारायण यादवको कान्छा छोरा रञ्जीत यादवको दुर्घटनमा परेर मृत्यु भएपछि परिवार नै शोकमा परेको छ । घटना सुनेपछि हेमनारायण होसमा छैनन् ।


हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटनामा परी आज तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको थियो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश१–०२४१प २२९६ नंको मोटरसाइकल र प्रदेश१–०२०४१प ९५२४ नंको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ ।