उम्मेदवार छनोट गर्न माओवादी केन्द्रको ६ बुँदे परिपत्र (पत्रसहित)



काठमाडाैँ । सत्तारूढ नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ।

सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।  


परिपत्रमा सम्भावना भएको पालिकामध्ये कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष र पालिकाभित्रका वडामध्य कम्तिमा एक अध्यक्षमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिएका हुन् । सर्कुलरमा वैशाख ५ गतेभित्र सबै स्थानीय तहको उम्मेदवार टुंग्याउन पनि निर्देशन दिइएको छ ।

माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ । महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एकरएक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने छ । वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्ने छ ।