नेपालद्वारा पपुवा न्युगिनी पराजित



काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए ।


त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८/८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले ।

यस्तै टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए ।

नेपालले दोस्रो खेल शुक्रबार युएइसँग खेल्नेछ । लिग दुईमा नेपालसहित सात देश सहभागी छन् । नेपाल नौ खेलमा पाँचमा जित तथा चारमा हारका साथ १० अङ्कसहित छैटौँ स्थानमा छ । पपुवा न्युगिनी हालसम्म जितविहीन अवस्थामा छ । उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय व्यहोरेको छ ।