नेताहरुलाई मात्र फापेको त्यो जनयुद्ध



फागुन १ । यो दिनाँक हरेक वर्ष घुमिरन्छ, नेपाली क्यालेण्डरको चक्रसंगै । त्यो २०५२ को फागुन १ एउटा बलिदान, त्याग, संघर्ष अनि रक्तिम युद्धको श्रीगणेश थियो । देश बदल्ने प्रणको लागि प्राणको आहुती दिने सामुहिक बलिदानी थियो ।तर २०७८ को फागुन १ सम्म आईपुग्दा त्यो २०५२ को फागुन १ को स्मृति, संस्मरण वा फ्ल्यासव्याक सुखद छैन ।

आम देशवासी र विदेशीसम्मलाई नेपाली पाराको कम्युनिष्ट संघर्षको एउटा मोडल प्रश्तुत गरेर सबैलाई प्रभावित पारेको त्यो २५ वर्ष अघिको फागुन १ समकालिन परिस्थितिमा भने केवल पश्चाताप, कुण्ठा, पीडा, क्रोध, असन्तोष र असीमित कलहको विजमा सीमित भएको छ । देशलाई एक दशकसम्म थर्कमान पारेको जनयुद्धको त्यो राप, ताप र ुाख अहिले निरर्थक प्रायः मात्र भएको छैन, आलोचनाको तारो भएको छ ।


हो, देश बदल्ने कसम खाएर शीरमा कफन बाँधेर जनयुद्धमा होमिएका तत्कालिन माओवादीहरु अन्ततः आफै बदलिए । जनयुद्धको उपलव्धी धनयुद्धमा परिणत भएका छ । सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने माओवादी कार्यलक्ष्य नेताहरुको आधिपत्यमा रुपान्तरित भएको छ । १७ हजार बढीको ज्यान लिएको जनयुद्धले माओवादी पार्टीका सीमित नेताहरुलाई नयाँ राजा बनाएको छ, नयाँ धनीमानी बनाएको छ । तर जनताको परिवर्तनप्रतिको चाहानालाई असरल्ल पारेर बिर्सिदिएको छ । यो घरेलु राजनीतिको तीतो यथार्थ हो । माओवादीको जनयुद्धको पछिल्लो ट्रयाजिक तस्वीर हो ।

जनताले परिवर्तन चाहेकै थिए । त्यसैले आश वा त्रासले होस वा जर्बजस्तीमा नै किन नहोस जनताले २०५२ देखि २०६२ सम्म माओवादी जनयुद्धलाई हात, साथ दिए । २०६३ को जनआन्दोलनमा सडकमा उत्रेर राजनीतिक परिवर्तनका लागि अर्को नयाँ अप्रिल क्रान्तिको उदाहरण पेश गरे । फलतः माओवादी २०६४ को आम निर्वाचनमा पहिलो र ठूलो दलका रुपमा जनताबाट अनुमोदित पनि भए । तर बोकाको मुखमा कुभिण्डो नअटे जस्तो हिंसात्मक युद्धबाट शान्ति राजनीतिमा आएको माओवादीले जनताको मतको कदर सम्मान गर्न सकेन । ९ महिनामा नै माओवादी सुप्रिमो प्रचण्ड नेतृत्वको सरकार प्रधान सेनापति बर्खास्तगीको असफल प्रयाशसंग सत्ताच्यूत भयो ।

त्यस यता पनि नेपाली राजनीतिमा धेरै उतारचढाव आए । माओवादी त्यस उप्रान्त कहिल्यै पहिलो दल बन्न सकेन । तर कहिले काँग्रेस त कहिले एमालेसंग मिलेर सत्ताको वरपर र नेतृत्व वा सहकार्यमा माओवादी सधै सामेल हुदै आयो । तर सत्तामा रहेर पनि माओवादीले जनताको भावना अनुसार काम गरेर जनताको स्यावासी पाउन भने कदापी सकेन ।

त्यो जनयुद्धकालिन माओवादीको ओझ र बोझ पछिल्ला दिनमा बिभाजनको पर्याय बन्यो । एउटा माओवादी बिभाजित भएर झण्डै दर्जन माओवादी तप्का बनेका छन । कोही एमालेमा मिसिएका छन । कोही आआफ्ना राजनीतिक नाँग्ले पसल चलाएर बसेका छन । यसले माओवादी जनयुद्धको स्खलन र बिर्सजनको अर्को दुखान्त चित्र प्रश्तुत गरिरहेको नेपाली राजनीतिको कटु सत्य नै हो ।

जनयुद्धका शहीदको शाहदत एउटा भरयाँग बन्यो चंखे चतुरे सीमित नेताको जीवन परिवर्तनको, सत्ता यात्राको । जनयुद्धका घाईते, बेपत्ताहरुको रोदन र पीडाको घाउ दुखीरहेकै छ, बल्झिरहेकै छ । देशले जनयुद्धका बेला क्षतविक्षत भौतिक संरचना र आर्थिक पाटोको क्षतीको सोधभर्ना अझै गर्न सकेको छैन ।

प्रचण्ड, डा. बाबुराम भट्टराईलाई माओवादी जनयुद्धले पूर्व प्रधानमन्त्री बनयो । कयौंलाई पूर्व मन्त्री र उच्च संवैधानिक अंगमा पनि पुरयायो । तर उनीहरुले सत्तामा रहदा पनि आआफ्नो कल्याण गरे, आफन्तको जीवनमा कायापलट गरे । तर जनयुद्धको मर्म र भावनालाई केवल गोहीको आशुँ झै बनाए भन्ने तथ्य ओपन सेक्रेट नै हो ।

यी केही प्रतिनिधि यथार्थहरुले त्यो जनताको बिद्रोह, संघर्ष र बलिदानीलाई अहिले गिज्याईरहेको छ । माओवादी नेताहरुको परिवारवाद, धनवाद र डनवादको नयाँ शैलीले त्यो २०५२ को फागुन १ लाई गलत त थिएन भन्ने हजार प्रश्नहरु जनताका मन मष्तिष्कमा उव्जाएको छ । त्यसैले फागुन १ को ईतिहास आजका दिनमा सीमित लाभ लिएका माओवादी नेता र कार्यकत्र्ता बाहेकका लागि आशा होईन, निरासा, उपलव्धी होईन, क्षती र खुसी होईन, रोदनको कहालिलाग्दो पहाड बनेर पीडा झै बल्झिरहेको छ । यसतर्फ आफै बदलिएका माओवादी नेतृत्वले शायद अब त बिर्सदै पनि जान थाले ।

तै पनि ओठेभक्ति देखाउदै माओवादीका तप्काहरु आआफ्नो राजनीतिक पसलद्धारा जनयुद्धको संझान, सम्मान र जय गान गाउने नै गर्छन, पीतृश्राद्धको शैलीमा, फागुन १ को तिथिमा । तर त्यो त्यस रक्ति क्रान्तिमा होमिएका र प्रभावित सबैका लागि केवल व्यंग्य मात्र बन्ने गरेको तीतो यथार्थ हो । यस्तै यस्तै आलोकहरुमा जनयुद्ध दिवसलाई अब जनवाद होईन, धनवाद, परिवारवादको नयाँ श्रीगणेश गर्ने नेताहरुको दिवस भन्दा फरक नपर्ला नी । पर्ला र ?