अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती



खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् । गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिए ।

निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताए । बेलीब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलीब्रिज भत्किएपछि दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताए ।


बेलीब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर बेलीब्रिज तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गरे । बेलीब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोवेट ट्रक एकैपटक तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो ।

बेलीब्रिज बनाउन सेनालाई दिने मकालु–५ र १ जोड्ने बेलीब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिए । उनले भने, “बेलीब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ, बेलीब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ ।”

आयोजना प्रमुख खत्रीका अनुसार बेलीब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताए । बेलीब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उनको भनाइ छ । चौवन्न मिटर लामो बेलीब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलीब्रिज निर्माण गरेको हो ।