बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।


उनले भने, “कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरिएको हो ।” कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।

सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह गरिएको छ । घर बाहिर वा सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायमलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

यस्तै कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए ।

यसैबीच नयाँ भेरियन्ट फैलनसक्ने भन्दै भारतसितको सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्यरुपमा कोरोना परीक्षण गरिँदैछ । झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गइसकेको छ ।