बागमती प्रदेशमा गठबन्धनकाे तर्फबाट पौडेल र तिमल्सिनाले गराए उम्मेदवारी दर्ता



हेटाैँडा । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी)का एक÷एक जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले)को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी)लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । उक्त मनोनयनदर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।


त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए । तामाङ यसअघि भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार रहेका थिए । भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजूरी दिने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै २२ र २३ गते उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको बताइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ । आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ ।

मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् ।

कूल ११९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कूल २३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । त्यस्तै प्रदेशसभाका कूल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मतदाता कायम रहेको कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको चार हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कूल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।