पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन



काठमाडाैँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले आज काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धिको विरोधमा नेविसङ्घले हस्ताक्षरसमेत सङ्कलन गरेको छ । कोरोना सङ्कटमा सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको भन्दै सरकारलाई बुझाउनका लागि हस्ताक्षर सङ्कलन गरेको नेविसङ्घ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले बताए ।


विद्यार्थीले मूल्यवृद्धि खारेज गर्ने नेविसङ्घको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए । नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।