तनहुँ महोत्सव तथा माघे पर्व स्थगित



तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँको आयोजनामा हुने भनिएको आठौँ तनहुँ महोत्सव स्थगित गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ आयोजक तथा दमौली बजार एकाइ समिति सहआयोजक रहेको महोत्सव स्थगित गरिएको हो ।

सङ्घका महासचिव सुवोध अधिकारी र अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै माघ १९ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सव स्थगित गरिएको जनाए ।


नेपाल–भारतलगायत विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनका कारण अर्को सूचना जारी नहुँदासम्मको लागि महोत्सव बन्द गर्ने निर्णय गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच माघ १ गते दमौलीमा हुन लागेको मकर सङ्क्रान्ति पर्व पनि स्थगित गरिएको छ ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिका सचिव नन्दु थापामागर र अध्यक्ष मनिराज थापामगरले संयुक्त रुपमा आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ को अवस्थालाई दृष्टिगत गरी कार्यक्रम बन्द गरिएको जनाएका हुन् ।