चार्टर्ड उडानमा भएको अनियमितता छानबिन गर्न समिति गठन



काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।