गौर हत्याकाण्ड दोहोरिन सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी



रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् ।

बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले १५ वर्ष पहिले जस्तै गौर हत्याकाण्ड मच्चाउने धम्की दिएकी हुन् । बुधबार गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई लखेटेपछि उनले यस्तो विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।


सीके राउतले केही युवालाई भड्काएर मधेसमा कार्यक्रम गरिरहेको पनि उनले आरोप लगाइन् । उनले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेशमा लाठी प्रदर्शन नगर्न चेतावनी दिएकी छन् । जनमत पार्टीले तराईमधेशका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको, झूटा मुद्दा लगाइएकोलगायतका मुद्दा उचाल्दै निरन्तर आन्दोलन गरिरहेको छ । उनले सीके राउतसँग मधेसका कुनै एजेन्डा नभएको र केही एजेन्डा चहिए आफूहरुले दिने बताइन् ।

गौर नरसंहार ताजै रहेको उल्लेख गर्दै उनले भनिन्, ‘इतिहासमा राइस मिल अझै जीवित छ । रौतहट ऐतिहासिक जिल्ला हो । यो गौरमा फट्टा(चिर्पट) देखाउने प्रयास नगर । यहाँ लट्ठी भाँच्ने जनता छन् । तपाईंको फट्टा त्यहीँ तोडमोड गरेर हातमा राखिदिनेछौँ । आज बलिदानी दिवसका दिन हिंसा होइन, आज बलिदानी दिवस मनाउन आएका हौँ । भोलि हामीले यहाँका पुल र सडकको अवस्था कस्तो छ भनेर भिजिट गर्नेछौं । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।’

राइस मिलमा २०६३ चैत सात गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो । मन्त्री यादवकै तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताले एउटै स्थानमा सभा गरेको निहुँमा माओवादी कार्यकर्ताको हत्या गरेका थिए ।