कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा अत्यावश्यकबाहेक सबै सेवा स्थगित



कैलाली । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ ।

कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ । अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ ।


दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।

प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन् । दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो ।

तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो ।