एमाले जिल्ला अधिवेशन : तनहुँमा श्रेष्ठ सर्वसम्मत



तनहुँ । दमौली– नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि उपाध्यक्ष रहनुभएका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।


आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिए । म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुलातर्फ १७ खुला र ९ महिला गरी २६ निर्वाचित हुनेछन् ।