एमाले खोटाङका अध्यक्षमा दङ्गाल सर्वसम्मत



खाेटाङ । नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन् । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उनीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएका छन् । श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिए ।

दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका छन् । दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो ।


शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसम्मतको प्रयासमा ढिलो गरी सम्पन्न भएको हो । विसं २०५४ देखि पार्टीको जिल्ला कार्यसमितिमा लगातार काम गरेकाे अध्यक्ष दङ्गाल एमाले विभाजन हुँदा एमालेमै रहेका थिउ । विसं २०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत चयन भएका उनी तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएपछि अध्यक्षमा मनोनित भएका थिए ।