अरुण तेस्रो आयोजनाका मजदूरको मृत्यु



किमाथाङ्का । सङ्खुवासभामा निर्मार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ ।

चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर भारतीय मजदूर सिंह घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।


घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ । आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ ।

आयोजनास्थलमा अस्पताल अभाव अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदूरलाई समस्या भएको छ । हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदूर कार्यरत छन् । काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदूरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ ।