बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित



२ कात्तिक । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । त्यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् ।

सोमबार त्यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो संख्या त्यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा त्यहाँ संक्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् । त्यहाँकाे स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।


महिनौँपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । त्यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।