कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन



२३ असाेज । साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ । साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गरेका हुन् ।

‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ । धवल पुस्तकालय पाल्पाद्धारा आयोजित सो कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताए ।


साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो । वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औल्याए । साहित्यकार तथा समालोचक डा शङ्करप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताए ।

नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ लेखनलाई जारी राख्नुपर्ने बताए ।