संविधान दिवसको शुभकामना




उत्तम गौडेल ।

संविधान दिवस मनाउदै गर्दा पनि देशमा वर्तमान संविधान सबै सामाजिक तप्काका लागि सर्वस्वीकृत देशको मुल कानुनका रुपमा स्थापित छ की छैन ? यो प्रश्न नै संविधान दिवसको दिन सरोकारवाला सबैबाट समीक्षित हुनुपर्ने मुख्य सवाल हो ।

यही संविधान अनुसार जनादेशको जगमा बनेको प्रदेश २ सरकारले संविधान दिवस विशेष कार्यक्रमका साथ मनाएन पोहोर, पराहार जस्तै यो साल पनि । यो संविधान अन्र्तगत नै रहेर नयाँ जनमत संग्रहको माग गर्ने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको फरक मत कायमै छ ।
संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानुपर्छ भन्ने मान्यताका मुख्य अभियन्ताका रुपमा यसै संविधानका एकजना निर्माता डा. बाबुराम भट्टराईले निरन्तर माग गर्दै आएका छन ।एमालेका नेता वामदेव गौतमले पनि संविधान संसोधनको माग राखेको धेरै भयो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणलीमा नेता वामदेवको पनि जोड रहेको पाईन्छ ।



संविधान निर्माण ताका नै संविधानमा हिन्दूराष्ट्र लेखिनुपर्छ भनेर तत्कालिन संविधान सभामा प्रश्ताव नै दत्र्ता गराएका काँग्रेस नेता शेखर कोईराला अहिले १४ औं महाधिवेशन मार्फत काँग्रेसको बागडोर संहाल्ने दौडमा सामेल छन । संविधानले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपनि देशलाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने माग राख्दै आएका जननायक वीपि कोईरालाका पुत्र सशाँक कोईराला पनि काँग्रेसको क्याप्टेन बन्ने दौडका अग्रधावक हुन ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादीलाई त सुरुदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको खाँचो परेको हो । नहुनु भन्दा कानो मामा जाती भने झैं गरी माओवादीले संविधान छिटो बनोस भनेर मात्रै वर्तमान संविधान स्वीकार गरेको हो ।यसबाहेक यो संविधानलाई नै अस्वीकार गर्ने ठूलो तप्का देशका कुना कुनाबाट बिद्रोहको मसाल उचालिरहेको छ ।

आम जनताका लागि यो संविधान अझै पनि कागलाई बेल पाक्यो हर्ष न विष्मात भन्दा फरक हुन सकेको छैन । किन भने संविधानले जनतालाई भूकम्पको धक्कामा आड दिएन । कोरोना महामारीको बेला अस्पतालको एउटा वेड दिएन, ओखतीमुलो गरिदिएन । लकडाउनका श्रृखलाहरुमा यो संविधान बमोजिम जनताले कुनै राहत पाएन्न ।

यी सबै पृष्ठभूमिमा अब संविधान कस्तो छ र यसले जनताको अवस्था परिवर्तनमा के के योगदान गरयो भन्ने वैज्ञानिक, व्यवहारिक र बस्तुनिष्ट समीक्षा आवश्यक छ । संविधान मृत अक्षरहरुको दस्तावेजमा सीमित रहुन्जेल संविधान दिवसका दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च ओहोदाधारीहरुले दिने शव्द शुभकामनाको खास अर्थ रहदैन । जनताको संकटको सारथि, राष्ट्रको एकाताको आधार दस्तावेज बनाउने दिशामा यो संविधान दिवसले सबैलाई सदवुद्धि दिन सके सबैको भलो हुने र संविधान दिवस पनि सार्थक हुने थियो की ?