टुक्रिदा पनि डुक्रिन नछोडने ओलीपथ जिन्दावाद !



उत्तम गौडेल ।
अन्ततः वामदेव गौतमले नेकपा एमाले छोडनु भो । महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष पद पनि छोडनु भो । अध्यक्ष केपी ओलीसंगको दशकौं लामो साथ पनि छाडनु भो । एमाले छोडनु र एमालेमा जोडिनु वामदेव गौतमको खान्दानी बानी हो । उहाँले २०५४ मा पनि एमाले छाडनु भएको थियो । त्यही भएर २०५६ को आम चुनावमा उहाँले तत्कालिन एमालेलाई बहुमतको सरकार बनाउनबाट बञ्चित बनाउन सक्नु भएको थियो । आफ्नै नेतृत्वमा बनाउनु भएको नेकपा मालेलाई शानदार शून्य सिटमा सीमित राख्न सके पनि वामदेवले एमालेको सत्ता यात्रामा भने व्रेक लगाईदिनु भएको थियो । त्यसैले एमालेसंग वामदेवको पारपाचुकेलाई एमाले सत्ता यात्राको स्पीडमा व्रेक लगाउने पोलिटिकल स्पीडव्रेकर पनि ठानिन्छ, मानिन्छ ।

वामदेव कमरेड केवल एमाले छाडनु भा हो । उहाँले माथिल्लो सदनको माननीयको पद छाड्नु भाको छैन । एमालेमा अध्यक्ष ओलीले थप जिम्मेवारी दिएको भए पो उहाँले एमालेमा नै रहनु त । ओलीले भावि अध्यक्ष पनि दिनु भएन । सधैको उपाध्यक्ष अर्थात उप बस चुप गरेर बस्न सक्ने बानी नै थिएन वामदेवको । त्यसैले उहाँले एमाले भैरहनुको कुनै तुक देख्नु भएन अहिलेको परिवर्तित समयमा । त्यसैले वामदेवले एमाले छाडिदिनु भो ।


भावि पार्टी अध्यक्ष वा भावी प्रधानमन्त्रीका रुपमा वामदेवलाई अध्यक्ष ओलीले प्रश्तावित गरेको भए वामदेवले अब पनि एमालेलाई नै नेपाली साम्यवादी क्रान्तिको मसिहाका रुपमा लिनु हुन्थ्यो नै । तर यसमा चुक्नु भएको वामदेव होईन, संस्थापनका रुपमा अध्यक्ष ओली नै चुक्नु भएको हो । वामदेव सधै सक्रिय भैरहनु पर्ने चरित्र हो । उहाँले सक्रियता बनाउन भन्दा भत्काउन बढी प्रयोग गर्नुहुन्छ । बरु, यसपट्क उहाँले आफ्नै नेतृत्वमा एमाले फुटाउने साहस भने गर्नु भएन । यो चाहि उहाँमा आएको ठूलो परिवर्तनको संकेत हो ।

सहयोद्धा माधव नेपालले नेकपा एकीकृत समाजवादीको विधिवत सुरुवात गरिसकेपछि मात्र वामदेवको एमाले विद्रोह सतहमा आएको छ । यसले वामदेवमा आएको परिपक्कवतालाई झल्काएको छ । वामदेवसंग अचेल जता मल्को उतै ढल्को गर्ने नयाँ आदत छ । ओली र एमालेको ओरोलो यात्रामा अब ईन्द्रका बा चन्द्रले पनि क्रमभंगता ल्याउन नसक्ने देखेपछि नै वामदेवले एमालेलाई बाई बाई गर्नु भएको हो ।
वामदेवले तत्कालिन नेकपामा उपाध्यक्ष, संगठन बिभाग प्रमुख, राष्ट्रिय सभा सदस्य हुदासम्म ओलीलाई साथ दिनु भएकै हो ।

ओलीले दिन सक्ने बेलामा वामदेवलाई अक्सर दिएको उपहार धोका नै हो । अब सिंहदरवारबाट वालकोटको बार्दलीमा सीमित ओलीसंग वामदवलाई दिन सक्ने खास केही छैन । दिन नसक्नेसंग टासिनु पनि अग्रगामी छलांग मार्न खप्पिस वामदेवका लागि ठीक राजनीतिक लाईन हुने कुरै भएन । त्यही भएर पनि वामदेवले एमाले र ओलीलाई एकैसाथ टाटा बाई बाई हान्दिनु भा हो । यसमा एमाले जनले खास चित्त दुखाउनु पर्ने कुनै कारण छैन है ।

जहाँसम्म वामदेव कमरेड अब कता भन्ने सवाल छ । यसको उत्तर त सहज, सरल र सिधै छ । अब उहाँले एमाले छोडे पनि उहाँले राष्ट्रिय सभाको सदस्य पद छाडनै मिल्दैन । त्यो पद जोगाउन उहाँले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आफूलाई समाहित गर्नैपर्छ । राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल भएका माननीयका रुपमा उहाँले काम न काजको माथिल्लो सदनमा सानदार सहभागिता जनाउनु नै हुनेछ । उस्तै परे, राष्ट्रिय सभाबाटै उहाँले अन्य राजकीय पदमा छलाँग नमार्नु होला भन्ने पनि छैन । किन भने, राजनीतिमा मात्र होईन, वामदेव कमरेडको डिक्सनरीमा पनि असंभव भन्ने शव्दावली नै छैन । फरक के मात्र हो भने वामदेवले एमाले छोडनु पूर्व नै उहाँले प्रचण्डसंगको साईनो संवन्धमा व्रेक लगाउनु भो ।

माधव नेपालसंगको निकटतामा पनि चिसोपना बढाएर अन्ततः माधव नेपालकै पथमा हिडनु भो । अब जुटन नसक्ने र जुटि हाले पनि एकतामा टिक्न नसक्ने नेपाली वामपन्थीहरुको सनातनी मान्यतामा वामदेव पनि अव्वल साबित हुनुभाछ । यसमा कमरेड वामदेवलाई वधाई नै दिनुपर्ला ।झन ठूलो बधाई चाहि एमाले अध्यक्ष ओलीलाई नै दिनुपर्ला । किन की दुई तिहाईको सरकार ८३ सीटमा सीमित गर्दै सत्ताच्यूत हुदा पनि ओलीको गर्जन ठूलै छ । एशीयाकै ठूलो नेकपा तीन टुक्रा हुदा पनि ओली नै आफूलाई बादशाह ठान्ने भ्रममा नै हुनुहुन्छ ।

मदन भण्डारीको हत्यापछि एमालेलाई १४ वर्ष एकल नेतृत्व दिएका माधव नेपालले एमाले छोडेर नयाँ दल बनाउदा पनि ओली आफैलाई विशाल, विराट र सफल ठान्दै हुनुहुन्छ । ६ प्रदेशका सरकार ढल्ने क्रम जारी रहदा पनि ओली एमालेमय नेपाल देख्दै हुनुहुन्छ । ओलीलाई हार खाने आदत छैन शायद । त्यसैले माधव नेपालदेखि वामदेवसम्मले छाडे पनि केही फरक पदैन ओलीलाई । ओली युगको नयाँ परिभाषा यही हो शायद । त्यसैले छाडने वामदेव भन्दा ज्यादा एकता रोक्न नसक्ने ओली नै वधाईका बढी हकदार हुन । ओली युगको नयाँ एमाले, टुक्रिदै गर्दा पनि डुक्रिन नछोडने ओलीपथलाई वधाई ।