उपत्यकाको डुबानः नदी किनार अतिक्रमणको परिणाम



उत्तम गौडेल ।
मञ्जुश्रीले चोभारको डांडो खडगले काटेर पानीको निकास गराई मानवबस्ती बस्न, बसाउन योग्य बनाएको विश्वास गरिदै आएको काठमाण्डौं उपत्यका फेरि एकपटक बाढी र डुबनाको त्रासमा फसेको छ । आईतवार रातिको भारी वर्षाले राजधानी उपत्यकाका प्रायः सबै खोला किनार पानीको सतहले पुरिएका छन । अरनिको राजमार्ग बाढीले अवरुद्ध भएको छ । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् ।

राजधानीमा आईतवार रातिको वर्षा प्रभावित करीब डेढ सय जनालाई प्रहरीले उद्धार गरेको प्रारम्भिक खबर छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेकाले मानवीय क्षती भएको छैन । प्रहरीका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन्


सधै जसो देशका अन्य भूभागमा बाढी डुबानको समस्याको खबर सुन्दै, पढ्दै, हेर्दै आएको उपत्यकाले पछिल्लो पट्क आफै बाढी डुबानको कहर सामना गरिरहेको छ । वर्षा जारी रहेसम्म यो संकट थपिन वा बढ्न सक्छ ।बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशमा भारी वर्षा भैरहेको नेपालको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार भने देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसरी हेर्दा कुरा सिधा र सरल छ, देश अझै केही दिन मौसमी वर्षाबाट प्रभावित रहने छ । भारी वर्षाका बेला परेको पानीले खोला किनारमा नअटेपछि शहर र बस्तीमा पस्ने सामान्य कुरा हो । खोलाले भारी पानीका कारण आफ्नो बाटो आफै तय गर्छ । यो प्राकृतिक नियम नै हो । त्यसैले उपत्याकामा बाढी डुबान मान्छेले निम्त्याएको हो, प्रकृतिले पेलेको होईन ।
अहिले उपत्यकाले व्यहोरोको बाढी डुबानको रुट कारण नै खोला किनारमा पसेका बस्तीहरु, बसाईएका बस्ती वा खोला किनारामाथि गरिएको मानव अतिक्रमणकै उपज हुन ।

पछिल्लो दशकमा राजधानीका सबै खोला किनार भूमाफियाहरुका कब्जामा गए । नदी किनारमा मानव अतिक्रमण भएकै कारण यस्तो भएको हो । यसका आवरणका दोषी भूमाफिया हुन भने मुख्य दोष भूमाफियाको संरक्षण गर्ने सरकार , दलका नेता र राजनीतिक शक्ति नै हुन ।
जबसम्म प्राकृतिक बहाव अनुसार खोला, नदीलाई बग्न दिईन्न, तबसम्म यस्ता डुबानका समस्या निरन्तर दोहोरिने छन । राजधानीमा वर्षा बढेन भने त राजधानी यो संकटबाट मुक्त होला, अन्यथा कहर अरु बढ्न सक्छ ।

तत्कालका प्रभावित र पीडितलाई महानगरले, केन्द्र सरकारले गर्ने उद्धारको जिम्मेवारी त छर्दैछ, त्यसबाहेक यस्ता समस्याको दीगो समाधानका लागि अब नदी, खोला किनारका बस्ती स्थानान्तरण गरी नदी, खोला किनारमाथिको अतिक्रमणलाई रोक्नुको विकल्प छैन । के त्यतातिर उपत्यकाका स्थानीय सरकार र केन्द्र सरकारले ध्यान दिन्छन त ? यहाँ कोही मरयो भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो सबैको । अहिलेका कहरलाई सबक मानेर सच्चिनु र नदी, खोलाको पानीको बहाब स्वतः उसको मार्गमा जान दिनुको विकल्प छैन । छ र ?