थप ३ हजार ९१५ जनामा सङ्क्रमण पुष्टि, २७ को मृत्यु



२९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र ६ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ लाख २८ हजार ५३२ पुगेको छ ।

त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७४ हजार ३४ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९८ जना छन् । कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।