कांग्रेस महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा



१४ भदाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्।

‘१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ थापाले भने, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ।’


थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए। उनी त्यसबेला शशांक कोइरालासँग पराजित भएका थिए।

‘अघिल्लो महाधिवेशनमै मैले महामन्त्रीमा प्रतिस्पर्धा गरेको थिएँ । तर, जित्न सकिनँ, यो पटक पनि म महामन्त्रीमा उठ्छु,’ थापाले भने । कांग्रेसको १४ औँ महाधिवेशन ९ देखि १३ गतेसम्म मंसिरमा काठमाडौंमा हुँदैछ ।