आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध



१२ भदाै । आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ । फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ–८ आकाशे आसपासमा मात्रै तीन ठाउँमा पहिरो झरेको छ । यस स्थानमा १५ दिनयता सडक अवरुद्ध बनेको छ ।

“बाटो सफा ग¥यो, एकैछिनमा पहिरो खसेर पुर्छ”, वडा नं ७ का अध्यक्ष शेरबहादुर केरुङले भन्नुभयो, “पानी निरन्तर परिरहेकाले पहिरो झरिरहेको छ ।” केरुङका अनुसार वर्षा कम भएको अवस्थामा समेत सडक सञ्चालन गर्न अझै केही दिन लाग्छ । वडा नं ७ र ८ को बीचमा धेरै स्थानमा पहिरो झरेको छ । त्यसमध्ये लिखुरे र लोक्से भन्ने स्थानमा झरेको पहिरो पन्छाउन सके विहीदिनसम्म सवारी सञ्चालन हुन्छ । पहिरो झरेको लिखुरे र लोक्सेका बीचमा पाँच गाडी फसेर एक सातादेखि रोकिएका वडाध्यक्ष केरुङले जानकारी दिए ।


प्रशस्तै पानी भएको यस क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै सडकमा भेल बग्ने गर्छ । यो सडक निर्माणाधीन अवस्थामा रहेकाले भित्तापट्टि कटान गरिएका अधिकांश स्थानमा पहिरो झरेको स्थानीयवासीको भनाइ छ । सडक अवरुद्ध भएको र निरन्तरको वर्षा भइरहेकाले गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था आउन लागेको वडाध्यक्ष केरुङको भनाइ छ । “पहिरो झरिरहेकाले पन्छाएर सडक सञ्चालन गर्न समस्या भएको छ”, उनले भने, “सामग्री खरिद गर्न र बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।”