युथ तथा जुनियर बक्सिङतर्फ खेलाडी छनोट शुरु



२७ असार । नेपाल बक्सिङ सङ्घको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट शुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आजदेखि सो छनोट शुरु भएको हो । पहिलो दिन जुनियरतर्फ पुरुष ५७ किलोमा नक्साल बक्सिङ क्लबका भूमिक थापाले ललितपुरका विशाल श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । युथतर्फ पुरुष ५४ किलोमा झापाका प्रविण बयल्कोटीले धरानका सिंहबहादुर लिम्बू तथा बोसीगाउँका सुलभ मालीले झापाका रोहन मलिकलाई पराजित गर्दै फाइनलका लागि स्थान बनाएका छन् ।

यस्तै युथतर्फ पुरुष ६० किलोमा इन्द्रबहादुर सुनारले रोज थापा मगरलाई पराजित गरेका छन् । यसैगरी युथतर्फ महिला ४८ किलोमा नक्साल बक्सिङ क्लबकी तेजीमाया गुरुङले झापाकी अनुष्का कुनाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकि छिन् । जुनियरतर्फ पुरुष ५० किलोमा कास्कीका मानबहादुर हमालले ललितपुरका सुजल थापालाई, ५४ किलोमा बक्समान्डुका छिरिङ शेर्पाले रामेछापका आर्यन गहतराजलाई तथा ७५ किलोमा ललितपुरका सुदेन गिरीले मेघदूतका अतुल्य भण्डारीलाई पराजित गरेका छन् ।


यस्तै जुनियरतर्फ महिला ५० किलोमा मकवानपुरकी रोशनी घलानले झापाकी अनिशा खवास तथा ५४ किलोमा रामेछापकी स्वस्तिका तिवारीले मकवानपुरकी विनिता मोक्तानलाई पराजित गरेकि छन् । प्रतियोगितामा २६ पुरुष तथा नौ महिला खेलाडीको सहभागिता रहेको छ । पुरुषतर्फ युथमा ६ तथा जुनियरतर्फ चार विधामा खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । महिलातर्फ युथ र जुनियरतर्फ दुई दुई विधामा खेलाडी एकापसमा भिड्ने छन् ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेका अनुसार प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने छ । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिता आगामी भदौ १ गतेदेखि युनाइटेड अरब इमिरेटस्को दुबईमा हुने प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिएका छन् । प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।