१३ साउन । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकि छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकि हुन् । एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकि हुन् ।
गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकि हुन् । यसअघि उनको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकि थिइन् ।