बाढीकाे कहरःपूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त



पूर्व राजा ज्ञानेन्द्र शाहले महामारी र प्राकृतिक विपत्तिकाे सामना गर्न सबै मिल्नु पर्ने बताउनु भएकाे छ । बिहिवार एक विज्ञप्ती जारी पूर्वराजा शाहले हालै देशभर बाढीले पुर्याएकाे धनजनकाे क्षतीप्रति गहिराे दुख व्यक्त गर्नु भएकाे छ । सम्वाद सचिव डा. फणिराज पाठकद्वारा जारी वक्तव्यमा पीडित जनताकाे राहत, उद्दार र पुनर्स्थापनाका लागि पनि अपिल गरिएकाे छ ।

पूर्व राजा शाहले प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि जिम्मेवार बन्न सम्वद्द सबैलाइ आग्रह पनि गर्नु भएको छ । बिहीबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गर्नु भएको छ ।  वक्तव्यमा भनिएको छ, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’


कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको उहाँको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘देश कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी बस्तीका बासिन्दाको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ ।’

मनसुनको सुरुमै यस्तो क्षति भएकाले आउँदा दिन अझ चुनौतिपूर्ण हुने भन्दै पूर्वराजा शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने उल्लेख गर्नु भएको छ ।

लगातारको वर्षासँगै विभिन्न नदी नालामा आएको बाढी तथा गएको पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ्गसहितका जिल्ला बढि प्रभावित भएका छन् । थप विज्ञप्ती जस्ताको त्यस्तैः

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढीपीडित जनताकाे संकटप्रति दुख व्यक्त गर्नु भएकाे छ ।