काकाकुल काठमाण्डौंले शोकाकुल मेलम्चीलाई मल्हमपट्टी लगाउन सकाेस


उत्तम गौडेल ।

करीब तीन दशकको प्रसव वेदनापछि सिन्धुपाल्चोकको मेलम्चीले काकाकुल काठमाण्डौंको घाँटी भिजाउने सपना पुरा गरेको करीब २ महिनाकै अन्तरालमा मेलम्ची आफैं शोकाकुल बन्न पुग्यो । असार १ गते मध्यरातमा बाढीले बगायो, पुरयो र निल्यो सिंगै मेलम्ची बजारलाई । घरहरु डुबे, बगे । शहर लेदो र हिलोले पुरियो । करीब आधा दजर्नन बढी मानिसको ज्यान गयो । मानिसहरु बेपत्ता पनि भए ।


प्रकृति रिसाएपछि मान्छेको केही लाग्दैन । यही नियति हरेक वर्ष जसो पहाडी जिल्ला सिन्धुपाल्चोकले व्यहोर्दै आएको छ । यतिबेला शोकमा डुबेको सिन्धुपाल्चोकलाई राहत, उद्धार र सहायताको खाँचो छ । अब काकाकुल काठमाण्डौंको घाँटी भिजाउन पानी दिने मेलम्चीले राजधानी काठमाण्डौंसंग ज्यान जोगाउने ओखती मुलोसहित गाँस, बास र कपासको याचना गरिरहेको छ । राजधानीलाई छेलोखेलो पानी पिलाउने मेलम्चीलाई पानीकै वितण्डाले निम्त्याएको संकटमा साथ दिनु अहिले राजधानी काठमाण्डौंको परम धर्म हो ।



काठमाण्डौं महानगरपालिकाले अब मेलम्चीलाई प्राण भर्न आफ्नो सेवाकर्मको उत्कृष्टता देखाउने पालो आएको छ । मेलम्चीले पानी दिन सक्यो, राजधानीले मेलम्चीवासीको प्राकृतिक पीडा, चाेटहरूमा मल्हम लगाउन सक्नुपर्छ । नेपालको सरकार सेवा, उद्धार, राहत सबै बढी प्रक्रियामुखी छ । तर मेलम्चीवासीलाई फास्टट्रयाकबाट राहत र साथ चाहिएको छ ।


मानव शक्ति नियन्त्रण बाहिरको प्राकृतिक बिपतिमा परेका मेलम्चीवासीलाई धन हुनेले धन, मन हुनेले मनमै प्रार्थना गरेर भए पनि अहिले बिपत्तिमा हातमा हात मिलाउदै सकेको साथ दिनैपर्छ । महानगरपालिकाले विशेष अग्रसरता लिएर मेलम्चीवासीलाई साथ सहयोग गर्नुपर्छ । यसले स्थनीय सरकारहरुको संकटमा एकले अर्कोलाई सघाउने नयाँ थिति पनि बसाउने छ ।

केन्द्र सरकारले गर्ने सहयोगको शैली पनि द्रूत गतिमा अघि बढाईनुपर्छ । हेलिकप्टरमा सरकारी अधिकारीहरुले गर्ने निरीक्षण र राहतको प्रतिवद्धताले कहिल्यै चुडिएका जन, पुरिएका वा बगाईएका ज्यानधनको परिपूर्ति हुन सक्दैन । जे नहुनु थियो, त्यो त भैसक्यो, अब मात्र बाँचेका जनको हेरविचार नै संघीय तथा प्रदेश र स्थानीय सरकारको मुख्य कार्यभार हो ।


स्थानीय तहका सरकार नै स्थानीय जनताका नजिकका सिंहदरवार हुन । तिनले आपतमा परेका जनताको संकटमोचनको पहिलो कार्यजिम्मेवारी पुरा गर्न सक्नुपर्छ । पहाडी ईलाकामा शहर र बस्ती बसाउदा वैज्ञानिक खोज अनुसन्धानपछि मात्र व्यवस्थित गराउन पनि मेलम्चीको बाढीको कहरले नयाँ सबक सरकार र जनतालाई सिकाएको छ । यो अपुरणीय क्षतीको आलोकमा अब मेलम्चीवासीको पुर्नस्थापनाको लागि सबैले होस्टेमा हैसे गरौं । कामना छ, फेरि यस्तो कहिल्यै नहोस ।

1 COMMENT

  1. धेरै मर्म स्पर्शी टिप्पणीका लागि सम्पादक महोदयलाई हार्दिक धन्यवाद । बार्षिक १६ अर्ब रुपैंया बजेट त काठमाडौं महानगरपालिकाको मात्रै छ । मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्याकाका सबै महानगरपालिका तथा नगरपालिकाको गरी वार्षिक वजेट ५० अर्ब रुपैंया भन्दा माथि छ । उपत्याकाका ४० लाख जनताले मेलम्चीको पानी उपभोग गर्छन् ।
    करिव १० हजार जनसंख्या रहेको मेलम्ची जलाधार क्षेत्रका लागि काठमाडौं उपत्याकाले आफ्नो जिम्मेवारी विर्सनु हुन्न ।
    तर पहिरोले यति ठूलो वितण्डा मच्चाउनुको मुुख्य कारण तर्फ हेलम्बुबासी सचेत हुनै पर्छ । कमजोर भु धरातल भएका भिराला पहाड डोजरले खोपेर सडक निर्माण गर्ने गल्ती हेलम्बुबासीले गरेकै हुन् । मेलम्ची खानेपानी आयोजनाले हेलम्बु क्षेत्रको विकासका लागि धेरै ठूलो रकम प्रदान गरिसकेको छ । यति ठूलो रकमले कुवुलकार निर्माण गर्न सकिन्थ्यो । तर ५० परिवारको वसोवार भएको गाउँमा १२ किलोमिटर पहाड खोपेर सडक निर्माण गरियो ।

Comments are closed.