कसरी बाँच्छ एमाले ?



भवानी बराल ।

नेकपा (नेकपा)को मृत्यु :


नेपाली कम्युनिस्ट आन्दोलनका दुई धार नेकपा माओवादी केन्द्र र नेकपा एमाले ०७४ जेठ ३ गते तामझामसहीत एकीकरण हुँदै थियो । माक्र्सवादी–लेनिनवादी र माओवादी धारसमेत एक ठाउँमा आएपछि मूलधार बन्ने महत्वाकांक्षा पलाउनु स्वभाविकै हुने नै भयो । पार्टीको नाम नै मूलधार जस्तो देखाउन ‘नेपाल कम्युनिस्ट पार्टी’मात्र राख्ने निर्णय गरे । तर यसअघिनै कुनै फुर्को नजोडिएको नेकपा नामको पार्टी निर्वाचन आयोग मै दर्ता थियो । कसोकसो बीचमा धर्को र कोष्ठ भित्र थप नेकपा नाममा नेकपा (नेकपा) दर्ता भयो । तर कालान्तरमा यो नाम नै अर्घेलो हुन पुग्यो । सर्बोच्च अदालतका विवादास्पद न्यायधिसले यसैमा टेकेर गत फागुन २३ गते नेकपाको विभाजनको मार्ग प्रशस्त गरिदिए ।

कसोकसो बीचमा धर्को र कोष्ठ भित्र थप नेकपा नाममा नेकपा (नेकपा) दर्ता भयो । तर कालान्तरमा यो नाम नै अर्घेलो हुन पुग्यो । सर्बोच्च अदालतका विवादास्पद न्यायधिसले यसैमा टेकेर गत फागुन २३ गते नेकपाको विभाजनको मार्ग प्रशस्त गरिदिए ।

दुई समूहको गठबन्धनले नै संसदीय निर्वाचनमा करिव दुई तिहाइ नजिकको बहुमत सिद्ध गरेकै थियो । यस्तो बेलामा दम्भ, महत्वाकांक्षा आउने नै हो । खरबारीमा आगो नलागुन्जेल खरको फुर्ती त्यस्तै हुन्छ । जब खरबारीमा आगो लाग्छ त्यतिखेर मात्रै थाहा हुन्छ डढेलो कस्तो हुन्छ । यता देशभर नेकपा (नेकपा) गठनको दीपावली हुँदै थियो । उता नेकपाका नेता घनश्याम भुसाल चैं ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ शिर्षकमा आलोचनात्मक लेख छपाउन व्यस्त थिए । त्यो लेखमा उनले युनानी पौराणिक कथा नार्सिसस् र फिनिक्सको उदाहरण सम्झाउँदै फिनिक्सको बाटो नतताए कम्युनिस्ट पार्टी मर्छ भन्ने विचार व्यक्त गर्दै रहे ।

नेकपा (नेकपा) ले फिनिक्सको बाटो जाने की नार्सिससलाई गुरु मान्ने टुंगोमा नपुग्दै डबल नेकपालाई अदालतका दुई न्यायधिसले सिध्याइदिए । नेपालको इतिहासमा कम्युनिस्ट पार्टी मरेको/मारिएको सायद यो पहिलो घटना हो । कुनै शस्त्र बेगर एउटा नादान फैसलाले कम्युनिस्ट पार्टीको मरण सम्भव भएको घटनाले डबल नेकपाको गठन कति कमजोर धरातलमा एक भएको रहेछ भन्ने सन्देश पनि प्रभाव गरेको छ । यसअघि केशरजंग रायामाझी र कृष्णराज बर्माले आफु मातहत रहेको कम्युनिस्ट पार्टी विघटनमात्र गरेका थिए । बाँकी कम्युनिस्ट पार्टीहरु एकीकरणमा गएका थिए । सर्बोच्चको फैसलाले नेकपा (माओवादी केन्द्र)लाई धरमर बनायो एमालेलाई बेटुङगे बनाइदियो ।

नार्सिसस र इको :

नार्सिसस् र फिनिक्सको कथा हालेर भुसालले डबल नेकपाको यात्रा फिनिक्सको बाटो नसमाते नबाँच्ने कथा हालेका थिए । तर, त्यो बाटो तय नहुँदै नेकपाको मृत्यु भयो । यहाँनेर एमाले यतिखेर त्यही नार्सिसस् र इकोको कथाको नियति भोग्न अभिशप्त भएको छ । युनानी पौराणिक कथा अनुसार इकोले राखेको प्रेम प्रस्तावलाई नार्सिसस्ले खारेज गरिदिन्छन् । इकोले पनि उनलाई आफुजस्तै एकहोरो प्रेममा परेर सिद्धिने श्राप दिन्छिन । यसरी दुबैको प्रेम टुट्छ । एकदिन नार्सिसस् खोलाको किनारमा तिर्खा मेट्न पुगेका हुन्छन । त्यहाँ उनले आफ्नो अनुहार देख्छन । श्राप अनुसार त्यहीँ आफ्नो अनुहारको प्रेममा फस्न पुग्छन । अनुहार हेरे मन्त्रमुग्ध हुन्छन । पानी पिउन समेत विर्सन्छन् र उनको त्यहीँ मृत्यु हुन्छ ।

खनाल–नेपाल समूहको पार्टी मिलनको एकहोरो प्रस्तावलाई ओलीले नार्सिसस्ले झैं यसरीनै ठुकुराई रहेका छन् । ओली यतिखेर मार्सिसस्को भूमिका गरिरहेका छन् । खनाल–नेपालहरु इको जसरी नै ओलीसंग निशर्त प्रेम प्रस्ताव गरिरहेका छन् । यस्तो दिन नआओस जुन दिन मार्सिसस् र इकोको जस्तै इहलीला समाप्त नहोस् । त्यतिबेला एमाले पार्टीको बाँच्ने आधार समाप्त हुन्छ । एमालेको यात्रा भने त्यतैतिर लम्केको छ ।

थप याे पनि…..

भवानी बराल

एमाले पुनर्एकतामा छक्कापञ्जा

अमुर्त वयानको बहिरंग भाका :

‘एमालेमा छक्कापञ्जा, दाउपेच भएन भने आठ\दश दिनमा परिणाम निस्कनु पर्छ ।’ नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित नेकपा एमाले माधव गुटका नेता भीम आचार्यले ठोकुवा गरेको कुरा हो यो । गएको असार ४ गते एक दैनिकलाई अन्तरवार्ता दिँदै उनले भनेका धेरै कुराहरुमध्ये एमालेको पुनर्एकतामा यस्तो दावी गरे ।

उनले भनेको मितिमा परिणाम निस्कन्छ निस्कन्न त्यसको लागि धेरै दिन कुर्नु त छदंैछैन । यद्यपि एमाले पुनर्एकताको बसिबियाँलो यसैबाट निस्कन्छ । यसरी छक्कापञ्जा र दाउपेचको अमुर्त बयानमा पुनर्एकताको बहिरंग भाकाको पेटबोली उत्साहप्रद छैन ।

एमालेमा माग्ने र बक्सने :

एमाले पार्टी औपचारिक रुपले विभाजित भएको छैन । तर, सग्लो पनि छैन । साहित्यकार शंकर लामिछानेको निबन्ध ‘एब्सट्रयाक चिन्तन प्याज’ जस्तो उत्तरआधुनिक शैलीमा छ । फागुन २३ गतेको फैसलाले एमालेको पूर्वरुपलाई मान्यता दिएपछिको खेलो हराएको राजनैतिक कर्म हो यो ।

एमालेमा ओली गुट यतिखेर सरकारमा मात्र सत्तासीन छैन, पार्टीको सत्ता पनि उसैको कब्जामा छ । ओली गुट भारदारीसभा मात्र हो । त्यो गुटमा पनि पार्टी छैन, केपी शर्मा ओलीको व्यक्तिगत इच्छामा निहित छ ।

यसैले माधव गुट जेठ २ गतेमा निशर्त फर्कन माग गरिरहेको छ । ओली फागुन २८ गतेलाई पछ्याउ भनिरहेका छन् । तिनका आसेपासे भारदारहरुले जेठ २ गतेसम्म बूढा मान्छन कि भनेर अनेकान कोठे बैठकमा अश्वासन बाँडी रहेका छन् । माधव गुटका यिनै होनहारहरु माग्ने र ओली हुकुम प्रमाङ्गी गर्ने हैसियतमा छन् । समग्रमा एमाले पार्टीमा यतिखेर ‘पार्टी स्वतन्त्रता’ हराएको छ ।

गुटैगुटको महागुट :

‘एमालेमा तीन गुट छन् । केपी ओली गुट, हाम्रो गुट र वामदेव गौतमको गुट छ । यी तीनवटै गुटमा अलगअलग धार छन्, वामदेवकोमा त्यतिधेरै छैन होला ।’ यो कुनै एमालेको एकता विरोधी गुटले लगाएको फगत आरोप हैन । उनै आचार्यले सार्वजनिक गरेको धारणा हो ।

यहाँ ‘हाम्रो गुट’ भन्नाले खनाल–नेपाल समूहलाई भनिएको हो । यसर्थ यो आलेखमा सिधै माधव गुट शब्द प्रयोग गरिएको छ । यी गुटमा भएको अलग–अलग धार भन्नाले उप–गुटहरुलाई सम्झना गराउँछ । ती उप–गुटहरुमा पार्टी विभाजन गरेर लैजाने वा मिलाएरै लैजाने प्राविधिक पक्षहरु मात्र भएको रहस्योद्घाटन उनैले गरेका छन् ।

वास्तवमै आचार्यको भनाइ एमालेको आन्तरिक सत्य हो । एमालेमा कुनै विचार समूहको वैचारिक अन्तरसंघर्ष छैन । गुटहरुको महागुट संयोजन र व्यवस्थापनमा आएको किचलो हो । यो किचलोलाई फेरि पनि मिलाउँदा एमाले गुटैगुटको छाता संगठन महागुट बन्नेछ ।

सिद्धान्तहीन एकता :

नेकपा एमालेको एकता भन्नुस वा विभाजन अहिलेको हकमा प्राविधिक मात्र हो । एमालेको सिद्धान्त, विचार, दर्शन, कार्यदिशा त भग्नावशेष भइसकेको धेरै भइसक्यो । उसको कुल सैद्धान्तिक, वैचारिक, दार्शनिक, कार्यदिशागत पुँजी भनेको संसददेखि संसदसम्म, सरकारदेखि प्रतिपक्षदेखि सरकारसम्म, चुनावदेखि चुनावसम्म मात्र हो ।

अहिलेसम्म सांगठानिक व्यवस्थापन राम्रो भएकोले मात्र एमाले अस्तित्वमा थियो । अहिले ओली गुटसँगको एकता प्रस्ताव त्यही सिद्धान्तहीनताको जगमा उभिएको छ । यसको खुलासा पनि आचार्यले यसरी गरेका छन्, ‘सिद्धान्त, विचार, दर्शनमा फरक–फरक भयो भने धेरै गाह्रो हुन्छ ।

दर्शन, सिद्धान्त, विचारमा हामी एकमत छौं । कार्यदिशामा पनि एकमत छौं । दैनिक रुपमा सरकारले गर्ने केही काम, केही राजनीतिक विषयमा हाम्रा फरक दृष्टिकोण छन् ।’

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने दुवैको सिद्धान्त, विचार, कार्यदिशा एकै छ भन्नुको तात्पर्य दुबै गुटसँग केही छैन भन्ने हो । त्यसैले अंकको झगडा जेठ २÷३ गते फागुन २८ गतेको कुरामात्र दुवै गुटमा उठेको छ । केही प्राविधिक कुरा सरकार चलाउने, सांगठानिक तथा अन्य नियुक्ति, पजनी गर्ने कुरामा मात्र मतभिन्नता देखिएको आचार्यको भनाइबाटै प्रस्ट हुन्छ ।

माधव गुटसँग केही राष्ट्रिय राजनैतिक महत्वका मुद्धाहरु भने अवश्य छन् । संसद पुनस्र्थापना, संवैधानिक ‘कु’ आदि । तर यति नै कुराले दुवै गुटमा तात्विक फरक पार्दैन ।

भुसालको मसाल :

नवौं महाधिवेशनबाट उप–महासचिवमा निर्वाचित घनश्याम भुसालले केही वर्ष अगाडि ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी ?’ शिर्षकमा एउटा लम्बेतान आलेख बाहिर ल्याएका थिए । प्राचीन युनानी मिथकका दुई पात्र नार्सिसस् र फिनिक्स चराको जीवनचर्यासँग पार्टी जीवनको तुलना गरेर । नार्सिसस् जस्तै आत्मरतिमा रमाएर सिद्धिने कि फिनिक्स जस्तो जीवनचक्र पुनः सुरु गर्ने प्रश्न कम्युनिस्ट पार्टी जीवनको हकमा महत्वपूर्ण हुने उनले बताएका थिए ।

उनले लेखेका सैद्धान्तिक हरफहरु अहिले उनले लिएको बाटोसँग मेल खान्छ ? एमालेको सांगठानिक एकताले उनले अगाडि सारेको विचारले सिँचित गर्ने मौका पाउँछ ? नेकपा बनेपछि लिखित त्यो आलेखको निर्देशन नेकपाको विभाजनभित्रको एक घटक एमालेमा कसरी लागू हुन्छ ? जबकि एमाले बैचारिकरुपले भग्नावशेषमा परिणत भएको पार्टी भइसकेको थियो । त्यतिखेर भुसालले बालेको मसाल ओली गुटसँगको एकतापछि बल्छ कि निभ्ने सम्भावना बढी छ ? बग्रेल्ती प्रश्नहरु छन् ।

सिद्धान्त, कथा मिथक, उखान त यतिखेर सूचना प्रविधिले हातहातमा पु¥याई दिएको छ । जाँगर हुँदा यस्ता दर्शन, विचार, इतिहास, मिथक पढ्न बुझ्न कुनै पुस्तकालय, विश्वविद्यालय धाउनु, जानु पर्दैन । कुनै नेताको आलेख वा प्रवचनको पनि आवश्यकता पर्दैन । यसैले माक्र्सवादी भाष्यमा माक्र्सवादलाई लागू गर्ने कुरालाई महत्वपूर्ण मानिन्छ । कथनीको मात्र कुनै महत्व हुन्न । करणी नै सार हो । एमालेको प्रस्तावित पुनर्एकता फिनिक्स जीवनको बाटो तय गरिरहेको छ कि नार्सिसस्को झैं ओरालो यात्रा तय गरिरहेको छ चर्मचक्षु नभएका र लाटाले पनि बुझ्ने कुरो हो ।